‘अधिकार माग्दा राज्यले गोली चलायो, विभेदको पराकाष्ठा’



महेन्द्रनगर : जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारले षड्यन्त्रपूर्वक टीकापुर हत्याकाण्ड गराएको आरोप लगाएका छन् ।

जसपाले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले आन्दोलनकारी रेशम चौधरी र लक्ष्मण थारुलाई टीकापुर घटनामा षड्यन्त्रमूलक ढंगले फसाइएकोे आरोप लगाएका हुन् ।

उनले उत्पीडित जनताले हाम्रा पनि अधिकार, पहिचान संविधानमा राख्देऊभन्दा सरकार गोली हानेर हत्या गरेरको र त्यसपछि संविधान जारी गरेको बताए । उनले भने, ‘तर, विद्रोहमा षड्यन्त्र भएर दुर्घटना निम्तियो। दुर्भाग्य केही सुरक्षाकर्मी मारिए । राज्यपक्षबाट षड्यन्त्रमूलक ढंगले त्यो काम भएको हो ।’ आफ्नो हक अधिकार माग्दा राज्यले गोली चलायो, यो राज्यले मधेशी जनजाति थारु समुदायमाथि गरेको विभेदको पराकाष्ठा हो, महतोले भने ।

उनले षड्यन्त्र गरेरै आन्दोलनकारी रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन जेल सजाय सुनाइएको आरोप लगाए । अधिकार, पहिचानको लागि आन्दोलन गर्नु अपराध हो भने जनयुद्धका नाममा १७ हजार मान्छे मार्ने माओवादी आन्दोलनको नेता पुष्पकमल दाहाल प्रचण्ड र झापा आन्दोलनमा टाउको काट्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कारबाही गर्नु पर्ने उनको माग छ ।

‘माओवादी आन्दोलनका क्रममा ५ हजार सुरक्षाकर्मीसहित १७ हजार जनताका छोराछोरी मारिएका थिए । अनि खोइ प्रचण्ड जेल गएको ? रेशम चौधरी मात्रै जेल जाने । यो सबैको नेपाल भयो त? कानून सबको लागि बराबर भयो त?’, उनले भने, ‘रेशम चौधरीलाई आजीवन काराबासको सजाय दिने हो भने १७ हजार वर्ष जेल सजाय हुन्छ प्रचण्डलाई ? एक देशमा दुई कानून हुन्छ र?’

उनले प्रधानमन्त्री केपी शर्मा ओली सामन्तका नाममा टाउको काटेर हिँडेको भन्दै उनलाई पनि कारबाही हुनुपर्ने बताए । ‘झापा आन्दोलनमा केपी शर्मा ओलीले बञ्चरोले टाउको काटेका होइनन? अनि उनी देशको प्रधानमन्त्री हुने, प्रचण्ड देशको प्रधानमन्त्री हुने अनि थारु चाहिँ जेलमा बस्नु पर्ने? यही हो सबैको साझा फूलबारी, यही हो सबैको देश?’, उनले प्रश्न गरे । पटक–पटक संविधान र शासन फेरिए पनि कहिल्यै पनि व्यवहार र विचार नफेरिएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्