ओलीको पक्षमा ९२ सांसद पुग्छन् : महेश बस्नेत



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् । उनले भने,‘जतिसक्दो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’
उनले भोलिबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरे । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनले दाबी गरे । उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको बताए ।
पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आएपछि ढंग पु¥याइएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुने गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको तर्क गरे ।
‘आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन्,’ बस्नेतले भने ।
प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्थापनि आउने बस्नेतको भनाई छ । उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपनि प्रधानमन्त्रीसामु कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।

प्रतिक्रिया दिनुहोस्