बी एण्ड सीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको वचन



झापा । प्रधानमन्त्री केपी ओलीले झापाको बी एण्ड सी अस्पतालले छिट्टै मेडिकल कलेजको मान्यता पाउने बताएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अस्पताललाई मान्यता दिने वचन दिएका हुन् । ओलीले यो विषय झापाको लागि मात्रै नभएर छिमेकी देशका लागि पनि गौरवको कुरा हुने बताए ।
बी एण्ड सीले मान्यता नपाएको विषयमा बोल्दै मंगलबार ओलीले मान्यता पाउने प्रष्ट पारेका हुन् । ‘बी एण्ड सी मेडिकल कलेजको अहिलेसम्म मान्यता पाएको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘यो माग छिट्टै पूरा हुन्छ ।’
निरोगी देश बनाउनका निम्ति बी एण्ड सी जस्तै प्रशस्त मेडिकल कलेजको आवश्यकता भएकोसमेत उनले बताएका छन् । ‘हामी नेपाललाई निरोगी देश बनाउन चाहन्छौँ । त्यसको लागि बी एण्ड सी जस्तै प्रशस्त मेडिकल कलेजको आवश्यता पर्छ’, ओलीले भने ।
ओलीले सबै संरचना बनिसकेको बी एण्ड सीलाई मान्यता नदिने कुरै नहुने प्रष्ट पारे । ‘संरचना तयार पारेको बी एण्ड सी अस्पताललाई सम्बन्धन नदिने कुरै भएन’, ओलीले भने, ‘सबैलाई थाहा छ नेपाल मेडिकलको क्षेत्रमा संसारको सबैभन्दा सस्तोमा उपचार पाउने ठाउँ हो ।’

काँग्रेसको आपत्ति
यसैबीच झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
शिक्षामन्त्रीको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेस शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसले बताएको छ ।
कांग्रेसले राजनीतिक दबाब सिर्जना नगर्न भन्दै यस्ता कार्य गरे परिणाम दुःखद् हुने पनि चेतावनी दिएको छ ।
नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको कांग्रेस शिक्षा विभागले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्