जनकपुर साहित्य महोत्सव भोली



जनकपुरधाम । जनकपुरमा बुधबारदेखि साहित्य महोत्सव सुरु हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो ।महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहने आयोजक पक्षको भनाई छ । साहित्य महोत्सवमा राजनीति, साहित्य, व्यापार कला संस्कृतितर्फ बहस हुने पत्रकार सम्मेलन जानकारी दिइयो । जानकी मन्दिरको प्राङ्गणमा नव मिथिला फाउण्डेशनको आयोजनमा हुने महोत्सवको तयारी पूरा भएको आयोजक समितिका भूपेन्द्र खड्काले जानकारी दिए ।
फागुन १९ देखि २२ सम्म हुने महोत्सवमा जानकी दर्शन, जाआँै जनकपुर, प्रविधि र संस्कृति, साहित्यमा सीमाञ्चल, किताब वर्णदेखि वस्तुसम्म, कसले देला सुशासन, सिनेमाको रंग, सम्पादनको सकस, विदेशको यात्रा आशा कि लाश, अन्तवार्ताकारहरुको अन्तवार्ता, आ–आफनै कथा, समसमायिक राजनीतिमा गन्थन, मैथिली मिठास, मुखियाको मर्म, वैदेहीहरु, मेरो नगरको कथा लगायतको विषयमा चर्चा गरिने आयोजक पक्षले जानकारी दिएको छ । समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम हुने जनाइएको छ ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्ने सो कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योगी व्यवसायी विनोद चौधरी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, सिके लाल, राजनीतिकर्मी प्रदीप गिरी लगायतको सहभागिता रहने खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्