ओली ‘लुरे’ प्रधानमन्त्री : गगन थापा



सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली संसद् भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।
सर्लाहीको धनकौलमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री अंक गणितको खेलमा लागेर देशलाई बन्धक बनाउने प्रयास भइरहेको बताए । उनले निर्वाचन आयोगले पनि प्रधानमन्त्रीको यो प्रयासमा मलजल गर्दै साथ दिएको आरोप लगाए । थापाले नेकपाको आधिकारिकता विवादमा निर्णय गर्न ढिला गरेर निर्वाचन आयोगले ओलीको गलत कदमलाई साथ दिइरहेको बताए । ‘अंक गणितको खेलमा लागेर प्रधानमन्त्री देशलाई बन्धक बनाउने प्रयासमा लागिरहेका छन्,’ उनले भने, ‘यसमा निर्वाचन आयोगले पनि पार्टी विवाद टुंगोमा नपु¥याउँदा उनको यो कदममा साथ दिइरहेको छ ।’
पूर्वमन्त्री रहेका थापाले सयौं सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री आफैले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्नु लज्जास्पद रहेको बताए । आफै असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्न नसक्ने भन्दै थापाले प्रधानमन्त्री ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिए । थापाले अहिलेको प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा नराखेको भन्दै अब उनलाई बिदा गर्नु पर्ने बेला आएको बताए ।
थापाले पदको मोहले नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको बताए । उनले पहिला ओलीको हरेक कदममा साथ दिएका प्रचण्ड र माधव नेपाल लोभमा पर्दा यो स्थिति आएको दाबी गरे । नेता थापाले यसअघि राष्ट्रपतिले चालेका कतिपय कदमको कांग्रेसले प्रश्न उठाउँदा प्रचण्ड र माधव नेपालले साथ दिए पनि अहिले उनीहरु राष्ट्रपतिकै कार्यशैलीबाट सशंकित भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्