बिएण्डसी कलेजलाई सम्बन्धन दिन लागिएकोमा कांग्रेसको आपत्ति



काठमाडौँ : बिएण्डसी कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिन लागिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस शिक्षा विभागले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो आदेशमा कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै आपत्ति जनाएको हो ।

काठमाडौँ विश्वविद्यालय (केयू)को सभाले शिक्षामन्त्रीको ठाडो आदेशमा सम्बन्धन दिन लगाउनु सरकारले नै बनाएको ऐन, नीति, नियम र नियमावली विपरित रहेको कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

शिक्षामन्त्री स्वयंमले विश्वविद्यालयको स्वायत्तता मिचेको भन्दै कांग्रेसले यसको परिणाम दुःखद हुने चेतावनी समेत दिएको छ । बिएण्डसी कलेज प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेका छन् ।

एक समय प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र पुष्पकमल दाहाललाई मार्सी भात खुवाएर प्रसाईले सम्बन्धनका लागि लबिङ गरेका थिए । तर पनि चिकित्सा शिक्षा अभियान्ताको चर्को विरोधले त्यो सफल हुन सकेको छैन् ।

चिकित्सा शिक्षाका अभियान्ता डा.गोविन्द केसी प्रसाईको कलेजलाई सम्बन्धन दिन नहुने भन्दै चर्को विरोध गर्दै आएका छन् । सरकारका यस्ता प्रवृत्तिविरुद्ध डा.केसी पटक पटक अनसन समेत बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्