ओलीलाई मधेश पस्न नदिए पनि पानी नरोक्नुहोला : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको आज बिहीबार एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

आर्थिक वर्ष ०७७र७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना मुख्यरूपमा सिँचाइमा केन्द्रित छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ । करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी वागमतीमा पुग्नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ ।

मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

ओलीलाई रोके पनि पानी नरोक्नुहोला
ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् । बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छु, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला ।’ विगतमा केपी ओली मधेस विरोधी भनेर मधेसमा पस्न नदिने भन्दै उनले केपी ओली नपसे पनि पानी पठाउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्