विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो । यो सहमतिलाई बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए ।
शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ । सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ । मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो । सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक रहेको वार्ता समिति गठन गरेको थियो । विप्लव समूहको वार्ता समिति सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।
हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्