‘बी’ डिभिजन लिग : सातदोबाटो र बाँसबारी तथा मध्यपुर र पुलचोक भिड्दै



काठमाडौँ : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा आज शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब र तेस्रो स्थानमा रहेको बाँसबारी क्लबबीचको खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै आफ्नो स्थान कायमै राख्ने दाउमा छ ।

आजको खेल हारेमा सातदोबाटोले शीर्ष स्थान गुमाउने सम्भावना छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको पनि २२ अङ्क नै रहेको छ ।

एन्फा कम्प्लेक्समा नै हुने अर्को खेलमा मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीचको खेल हुँदैछ । खेल दिउँसो साढे ३ बजे सुरु हुने छ । मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा रहेको छ भने पुलचोक २ अङ्कसहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्