अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार वीरगंजकी मुस्कान खातुनलाई



काठमाडौँ : एसीड आक्रमणमा परेकी वीरगंज निवासी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने भएकी छन्। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगंजमा २०७६ भदौमा एसीड आक्रमण गरेका थिए ।

खातुनलाई आइडब्ल्युओसी पुरस्कार प्रदान गर्ने नेपालका लागि अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने दूतावासले जनाएको छ।

आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने बताइएको छ।
यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्