काँग्रेस र प्रचण्ड नेपाल समूहको संसदीय दल बैठक बस्दै



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो १ बजे प्रचण्ड-नेपाल र कांग्रेसले बेग्लाबेग्लै स्थानमा संसदीय दलको बैठक राखेका छन्।

नेकपा प्रचण्ड-नेपाल पक्षले अपरान्ह १ बजे सिंहदरबारमा बैठक बोलाएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्। प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ। प्रचण्ड-नेपाल समूहले भट्टराईलाई ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ।

त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई समेत स्थायी कमिटीबाट छ महिनाको लागी निलम्बन गरेको छ। सो समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ। नेकपाका १७४ सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटाको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १७२ सांसदमध्ये प्रचण्ड-नेपाल समूहमा ८७ जना सांसद छन्।

ओली समूहमा ८३ जना रहेका छन्। दुई जना सांसद कतै खुलेका छैनन्। त्यस्तै राष्ट्रिय सभामा नेकपाका ५० संसद छन्। राष्ट्रिय सभामा अध्यक्ष बाहेक ४९ जना नेकपा सांसद रहेका छन्। जसमध्ये २४ जना प्रचण्ड-नेपाल समूहमा छन् भने २४ जना ओली समूहमा छन्। वामदेब गौतम भने कतै खुलेका छैनन्।

यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्