विवाहपञ्चमीकाे अवसरमा भारतीय प्रधानमन्त्री माेदी जनकपुर अाउने सम्भावना



जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवाह-पञ्चमीकाे अवसर पारेर पुन: जनकपुर आउने सम्भावना देखिएकाे छ ।  

 

रामजानकी विवाहमहोत्सव प्रारम्भ हुनुभन्दा तीन दिन अघिदेखि जनकपुरका होटेलहरु ६ दिनका लागि बुक भएका छन् । होटेल व्यवसायीहरुका अनुसार पत्रकारका लागि भनी भारतीय वाणिज्य दूतावास वीरगञ्जले होटेलका कोठाहरु बुक गरेको जनाएकाे छ ।

 

६ दिनका लागि कोठाहरु बुक गरिए पनि कुन पत्रकारहरु आउने दिनकाे भने टुंगो लागिसकेको छैन । रामजानकी विवाहमहोत्सव मंसिर २६ गते परेको छ । नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुरधाम आएका थिए ।

 

उनी पहिलो पटक जनकपुर आउँदा करिब तीन घण्टा समय बिताएका थिए । जानकी मन्दिरमा पूजा, जनकपुरधाम–अयोध्या बस सेवा उद्घाटन र बाह्रबिघामा माेदीलाई नागरिक अभिनन्दन गरिएकाे थियाे ।

 

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गरेका थिए ।नागरिक अभिनन्दनमा ठूलो भीड लागेकाे थियो । भारतको सहयोगमा निर्माणाधीन जयनगर–बर्दिबास रेल खण्डमध्ये पहिलो चरणको जयनगर–जनकपुरधाम कुर्था रेल सेवाको उद्घाटन रामजानकी विवाहमहोत्सवकै समयमा गर्ने तयारी भइरहेको छ ।

 

भारतीय प्रधानमन्त्री मोदीले रेल सेवाको उद्घाटन गर्ने बताइएकाे छ । मोदी आउने तयारी भइरहँदा नेपाल तथा भारतले पुष्टि भने गरिसकेको छैन । प्रदेश र केन्द्र सरकारले भ्रमणको औपचारिक जानकारी नभएको बताएको छ ।

 

तर भारतीय अधिकारीहरुको जनकपुरधाम भ्रमण बाक्लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्