प्रचण्ड संसदीय दलको नेता चयन, ११४ सांसद रहेको दावी



काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदलाई धन्यवाद दिएका थिए ।

बैठकअघि प्रचण्ड–माधव समूहले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलनसमेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । ‘आज ११४ जना सांसदको हस्ताक्षर संकलन भएको छ,’ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे । आजको प्रचण्ड–माधव समूहको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव समूहले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।

दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग एक सयभन्दा बढी सांसद रहेको दाबी गरिरहेको छ । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्