भारतमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु



काठमाडौं । भारतको मध्यप्रदेश राज्यको ग्वालियरमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति ११ जना नेपाली सवार गाडि दुर्घटनामा परेको हो । उनीहरु मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको थिए ।
विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् । ट्रकको ठक्करले भ्यान नै कच्याकुचुक भएको थियो ।
घटना लगत्तै पुगेको प्रहरीले स्थानीयहरुको सहयोगमा गाडीमा चेपिएकाहरुलाई निकालेका थिए । मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । प्रहरीले ठक्कर दिने ट्रकको खोजी गरिरहेको छ । घाइतेहरुको उपचार ग्वालियरको जयारोग्य अस्पतालमा भइरहेको छ भने । एक जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ । मृत्यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्