किस्तीमा प्रधानमन्त्री खाइदिनुहोस् भनेका छैनौं : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।
‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि,’ ओलीले भने । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेकोतर्फ संकेत गर्दै अरुको पछाडि लागेको बताए ।
शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘किस्तीमा प्रधानमन्त्री लिएर अन्त खाइदिनुहोस् न खाइदिनुहोस् भन्न जाने,’ओलीले भने,‘नेतृत्व गर्न छाड्ने नेतृत्व गरिदिनुहोस् भन्न जाने ।’ ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै नग्नता प्रदर्शन गरेको आरोप लगाए । उनले भने,‘नग्नताको यो हद हुन्छ नि ।’
ओलीले विगतमा पनि आफ्नो सरकार ढालेको र फेरि झन् बलियोसँग फर्किएको स्मरण गराए । उनले भने,‘विगतमा पनि सरकार ढालेका थिए, मैंले त्यतिबेला झ्यालबाट होइन मूलढोकाबाट सिंहदरबार छिर्छौं भनेको थिएँ र छिर्यौं ।’
प्रचण्ड र माधवलाई लक्षित गर्दै ओलीले भने, ‘उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराख्नुभएको छ ।’
ओलीले मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि आफूले संसद विघटन गर्ने बाध्यता रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको उल्लेख गरे ।
ओलीले आज एउटा ऐतिहासिक काम सम्पन्न भएको बताउँदै भने, ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन ।’
आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पु¥याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताए । प्रधानमन्त्री ओलीले विप्लवसँगको सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको पनि जनाए ।
‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ओली भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ सम्बोधनका क्रममा ओलीले साहसिक कदम चालेको भन्दै विप्लवको तारिफ गरे ।
ओलीले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहसँग एकताको संकेत पनि गरे । उनले आफ्नो दल र विप्लवको दल र त्रीशुली र सेती नदीसँग तुलना गर्दै एकताको संकेत गरे ।
‘त्रिशुली नदीमा सेती मिसिंँदा फरह हुन्छन् पछि एउटै हुन्छन्,’ ओलीले भने,‘हामी एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’
ओलीले आफूहरुको उद्देश्य एउटै भएकाले असल मनशायका साथ अगाडि बढेकाले नजिकिदै जाने बताए । उनले भने,‘एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’
ओलीले विप्लवको शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनुलाई सेफ ल्यान्डिङ भने । उनले भने, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रयास ल्यान्डिङ पनि होइन सेफ ल्यान्डिङ हो ।’
त्यसअघि सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हिजो भएको तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्