‘विप्लवसँग रातारात सहमति भएका थिएन’



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए।

ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे। चन्दले सम्बोधनका क्रममा नेपाली जनताले अझै मुक्ति नपाएको स्पष्ट पारे। शान्तिपूर्ण बाटोमा आए पनि जनताको अधिकार प्राप्तिमा सक्रिय रहने उनको भनाइ थियो।

‘कसैले नेपालका बारेमा आफ्नो ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति छ। यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटि अधिकार प्रयोग गर्न दिनुपर्छ। अहिले पनि हाम्रो दृष्टिकोण छ, नेपाली जनताले अधिकार प्रयोग गर्न पाउनुपर्छ। नेता, दल सबैलाई हामीले चुन्यौं,’ उनले भने, ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालबारे जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ। हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं– हामी तयार छौं।’

दुवै नेताले सम्बोधन गर्नुअघि शुक्रबार सरकार र ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

उनीहरूले हस्ताक्षर गरेको सहमतिपत्रमा सरकार र नेपाल कम्युनिस्ट पार्टी दुवैले वार्ताबाट समस्याको समाधान गर्ने, विप्लव समूहले शान्तिपूर्ण रूपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने, पक्राउ परेका विप्लव समूहका कार्यकर्ता रिहा तथा सम्पूर्ण मुद्दा फिर्ता लिने उल्लेख हुन्।

शान्तिपूर्ण बाटोमा आएकाले शान्तिको प्यारामिटर उचाइमा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले विप्लवलाई धन्यवाद दिएका थिए। गृहमन्त्री थापाले निरन्तर सम्पर्क गरेर विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा ल्याउन पहल गरेका थिए। सो कार्यक्रममा वार्ता समितिका सदस्य राजन भट्टराईले कार्यक्रम चलाएका थिए भने विप्लव समूहका केन्द्रीय सदस्य उदय चलाउनेले स्वागत भाषण गरेका थिए।

सरकार–विप्लव सहमतिलाई नेकपा दाहाल–नेपाल समूहले पनि स्वागत गरेको छ। सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो सहमतिको स्वागत गरेका हुन्। ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समूहको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्