डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैदको सजाय



काठमाडौँ : विशेष अदालतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारी ठहर गरेको छ ।

 

अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले श्रेष्ठलाई १ करोड १८ लाख ६६ हजार ७७६ गैरकानूनी रुपमा आर्जन गरेको ठहर गरेको हो।

 

श्रेष्ठलाई एक वर्ष कैद हुने ठहरसमेत गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल फागुन २ गते श्रेष्ठ र उनकी पत्नीविरुद्ध १ करोड ६७ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

२०५४ साल साउन १ गते सेवा प्रवेश गरेका भक्तमानको २०७० साल साउन ४ गतेसम्मको सम्पत्ति मूल्यांकन भएको थियो। त्यसक्रममा तीन करोड ७९ लाख रुपैयाँ आर्जन गरेकोमा एक करोड ८५ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी थियो। अख्तियारले उनकी पत्नी शिलुलाई समेत प्रतिवादी बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्