अदालतको फैसलाप्रति प्रचण्ड–नेपाल पक्षको विमति



काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको छ । सर्वोच्च अदालतले आइतबार फैसला गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि मर्माहत प्रचण्ड–नेपाल पक्षले पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
कानून व्यवसायीहरुसँगको छलफलपछि प्रचण्ड–नेपाल पक्षले फैसलाविरुद्ध पुनरावेदनमा जाने निर्णय गरेको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । सोही समयमै निर्वाचन आयोगले पार्टीको बैधानिकता दिएको थियो । तर ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको भन्दै २०७५ मंसिर २१ गते अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले दुई वर्ष ढिला गरी अहिले मात्र यो मुद्दाको फैसला गरेको हो । कानून व्यवसायीहरुको सुझावपछि निचोडमा पुगेको प्रचण्ड–ओली पक्षको स्थायी कमिटी बैठकबाट उक्त निर्णय पारित भइ पुनरावलोकनमा जाने बताइएको छ ।
प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ । कानून व्यवसायीहरुको उक्त सुझाव र निर्णयलाई अपीलमा जान सक्ने गरी निर्णय हुन सक्ने एक स्थायी कमिटी सदस्यले बताए । यही विषयमै छलफल हुने उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष भने यो फैसलापछि उत्साही देखिएको छ । संसद विघटन गरेर चुनावमा जान खोजेको ओली समूहलाई सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि हच्किनु परेको भए पनि अहिले आएर अदालतले गरेको अर्को निर्णयले भने उत्साही बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्