प्रधानमन्त्री कुन पार्टीको भनेर अदालतले जबाब दिइसक्यो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब दिइसकेको बताएका छन् ।
महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म हिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी हो? भनेर सोध्नुभयो । मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको? भनेर ।’ प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले आफूलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिएको बताए । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनु भएछ । म कुन पार्टीको भनेर अदालतले भनिदियो, उहाँहरू अदालतको निर्णय पनि मान्नुहुन्न’ उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतमा सोध्न जाऊ ।’
प्रधानमन्त्री ओलीले अदालतको फैसलामा आफू कुन पार्टीको भनेर स्पष्ट भइसकेको बताए ।
त्यसैगरी उनले संसद विघटन गरेर चुनाव गराउने आफ्नो निर्णयको पनि बचाउ गरे । ‘यतिखेर देश चुनावमा जान्थ्यो । चुनावपछि राम्रो सरकार बन्थ्यो त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोके । संसद् पुनःस्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन रहेछ’, ओलीले भने ।
संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेको आरोप पनि उनले लगाए । उनले सक्ने भए अध्यादेश संसदबाट फेल गरेर देखाउन चुनौती दिए ।
‘झगडिया जस्तो झगडा गरेर संसद् पुनःस्थापना गर्नमा लागे । प्रतिनिधिसभा पुनःस्थापना भयो अब संसद्को हालत हेर्नुहोस् त कोही बाहिर कुद्छन्, कोही नारा लगाउँछन’ ओलीले भने, ‘पहिलो गाँसमै झिँगा परेको भनेजस्तो भएको छ । उहाँहरुले केको हतार रहेछ बाहिर गुरुरुर कुदेर गए ।’
उनले देश, सांसद र संसद्को गरिमाअनुसार राख्नुपर्नेसमेत सुझाए । ‘संसद्मा यस्तो परिस्थितिको आँकलन गरेर मैले संसद् विघटन गरेको हुँ, हेर मेरै मेख मार्नका लागि भए पनि उहाँहरूले हिजो संसद्मा चुप लागेर बस्नपथ्र्यो नि!’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्