वामदेव र विष्णु पौडेलबीच छलफल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका छन् । पौडेल नेकपाको नामबारे सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गौतमको निवासमा पुगेका हुन् ।
अदालतको निर्णयबाट एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका गौतम फकाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव पौडेल पुगेका हुन । गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, कसरी जाने भन्ने विषयमा गम्भीर छलफल गरेको बुझिएको छ ।
घरमै लडेपछि गौतमको स्वास्थ्य अवस्था बुझ्न गौतमनिवासमा फागुन २१ गते प्रधानमन्त्री केपी ओलीसमेत पुगेका थिए । ओली आफ्नो समूहमा गौतम पक्षलाई ल्याउन क्रियाशिल बनेका छन् ।
पुस ५ गते नेकपा अध्यक्ष एवम् केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लागेका छैनन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सुनाएपछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लागेका छन् ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्