पार्टी जोगाउने सम्भावनाको खोजी गरौं : रघुजी पन्त



काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना खोज्नुपर्ने बताएका छन् । सोमबार कोटेश्वर पेरिसडाँडामा जारी साविक दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन पुष्पमल दाहाल र केपी ओली बसेर सम्भावना खोज्नु पर्ने धारणा आफूले राखेको पन्तले बताए ।
‘जसरी एकता प्रक्रिया सुरु भएको थियो, त्यो एकता प्रक्रिया आफैमा राम्रो थियो । एकताले लोकतन्त्र, नेपालको संविधानलाई जोगाएर जान सकिन्छ । सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिप्रेक्ष्यमा फेरि पनि कुराकानी गरेर एकता जोगाउने सम्भावना छन् भने खोज्नुपर्छ भनेको छु,’ पन्तले भने, ‘तर, त्यसको लागि फेरि पनि कमरेड प्रचण्ड र कमरेड केपी ओलीले कुराकानी अगाडि बढाउनु पर्छ । बसेर छलफल गर्नुपर्छ ।’
अदालतले अलि बढी राजनीतिक फैसला गरेको भन्दै पन्तले फैसला मान्नै पर्ने बताए । ‘सर्वोच्चको फैसला सम्मान गर्नुपर्छ । तर, अलिबढी राजनीतिक भयो भन्ने छ । बैठक जारी छ । साथीहरु विभिन्न कोणबाट आफ्ना धारणा राखिरहनु भएको छ,’ पन्तले भने ।
नेता पन्तले स्थायी कमिटी बैठकमा पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए ।
‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्