जनमतसंग्रहमा जानुपर्छ : विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका छन् ।
गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्ने बताएका हुन् ।
‘जनमतसंग्रहबाट जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ,’ विप्लवले भने,‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी ठिक भन्नेमा जनमतसंग्रह गर्नुपर्छ ।’ उनले अब मान्छेका लागि नभई व्यवस्था चुन्ने अवसर जनतालाई दिनुपर्ने बताए ।
आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनमतसंग्रहको कुरा राख्दा सकारात्मक जवाफ आएको उनले दाबी गरे । ‘जनमतसंग्रहबाट कोही आत्तिनु पर्दैन । वैज्ञानिक समाजवाद भनेपछि काँग्रेस र सरकार किन आत्तिनुपरेको ?’उनले भने ।
जनमतसंग्रहले देशलाई शान्तिपूर्ण रुपमा नयाँ ढंगले अगाडि बढाउने धरातल बनाउने बताए । उनले शान्ति सम्झौतालाई अग्रगामी सहमति भने । विप्लवले भने,‘यो भयंकर सम्झौता होइन । अग्रगामी सहमति हो ।’ शान्ति स्थिरता र परिवर्तनका लागि सहमति गरेको उनको भनाई थियो ।
विप्लवले नेपाली सेना र नेपाल प्रहरीको खुलेर प्रशंशा गरे । उनले सेना र प्रहरीविरुद्ध नभई व्यवस्था र गलत प्रवृत्तिविरुद्ध लडेको बताए ।
विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको पनि टिप्पणी गरे ।
जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् ।
माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे ।
सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको उनको भनाइ छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भनेपनि सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको विप्लवको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्