एमाले र माओवादीलाई एकीकरणका लागि पत्र लेख्दै निर्वाचन आयोग



काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मंगलबार पत्र काट्ने तयारी गरेको छ ।
आयोगका सहप्रवक्ता सूर्य अर्यालले सर्वोच्च अदालतको फैसला प्राप्त भइसकेको र त्यसबारे छलफल गर्न मंगलबार पदाधिकारीको बैठक बस्ने बताए ।
उनले भने, ‘हामी बैठक बस्दै छौँ । सर्वोच्चको फैसला कार्यान्वयका लागि आज आयोगले निर्णय गर्छ ।’
२०७५ जेठ २३ मा एमाले र माओवादी केन्द्र एकीकृत भइ बनेको दलको नाम नेकपा रहने गरि आयोगले दिएको स्वीकृति गएको आइतबार सर्वोच्च अदालतले बदर गरेको थियो ।
सर्वोच्चले दल एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, नियम र संविधान अनुसार पुनः आह्वान गर्न आयोगलाई परमादेश जारी गरेको थियो । सोही अनुसार मंगलबार बैठक बसी फैसला कार्यान्वयनका लागि एमाले र माओवादी केन्द्रलाई पत्र काट्ने तयारी भएको सहप्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्