माओवादीले सरकारको समर्थन फिर्ता लिएन



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘संसद सञ्चालन, सरकार र संविधान कार्यान्वयन गर्ने बिषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘आवश्यक परेको खण्डमा एमालेसँग पनि वार्ता गर्ने सकिन्छ ।’
उनले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला आह्वान गरेकोसमेत बताए । सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे केही निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।
‘अदालतको निर्णयपछि ओली पक्षमा रहेका नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छैन । उहाँहरुको आधिकारिक धारणा आएपछि मात्रै हामी निर्णय गछौँ’ उनले भने ।
पार्टी एकता जोगाउन धेरै पहल गरेको उनले दाबी गरे । ‘कम्युनिस्ट एकतालाई जोगाएर समाजवादको बाटो तय गर्ने अवसर तयार गरेको थियो। तर, अहिले हामीले त्यो अवसर गुमायौँ’ उनले भने । स्थायी कमिटीको बैठक बुधबार पनि बस्ने उनले बताए ।
बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादी नेताहरु अनुपस्थित रहेका थिए । माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओली नेतृत्वको सरकारमा छन् ।

प्रतिक्रिया दिनुहोस्