एकीकृत मार्सल आर्ट टोली विश्वकप खेल्न भारत प्रस्थान 



कैलाली : मार्सल आर्टको विश्वकपमा भाग लिन ३० सदस्यीय नेपाली खेलाडीको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोलीको मंगलबार धनगढीमा बिदाइ गरिएको छ ।

बिदाइअघि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत मार्सल आर्टका उपाध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक शेरबहादुर सिंहले विश्वकपमा नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ३० खेलाडी सहभागिता हुने जनाए ।

 

जसमा ५ महिला र २५ जना पुरुष छन् । उनले भने, ‘यसअघि सन २०१६ मा कोरियामा भएको वल्र्डकपमा नेपालका तर्फबाट ३ जना खेलाडी सहभागी भएका थिए । उनीहरुले पदकसमेत जितेका थिए ।

 

यसपटक नेपालबाट ३० जना सहभागी हुँदै छन् कम्तीमा ४० प्रतिशत स्वर्ण जित्ने आशा गरिएको प्रशिक्षक सिंहले बताए । खेलाडीमध्ये १२ जना सुदूरपश्चिम प्रदेशका छन् । सरकारी तर्फबाट सहयोग नपाए पनि खेलाडी र खेलाडीका अभिभावकको आफ्नै सहयोग र मेहेनतमा १ सय २० दिनको तालिम गरिएको उनले बताए ।

दिल्लीमा नोभेम्बर १ देखि ४ सम्म सञ्चालन हुने प्रतियोगितामा विश्वका ३० राष्ट्रका खेलाडी सहभागी हुने प्रशिक्षक सिंहले जानकारी दिए । यी खेलाडीको तालिमलगायत प्रतियोगितामा घोडाघोडी नगरपालिकाले आर्थिक सहयोग दिएको छ ।

 

पत्रकार सम्मेलनमा घोडाघोडी नगरपालिका २ का अध्यक्ष हरि विष्टले खेलाडी राष्ट्रका गहना भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘खेलले नै राष्ट्रलाई चिनाउने हुँदा नगरपालिकाका तर्फबाट पनि सानो सहयोग गरेका छौं, आगामी दिनमा पनि खेल क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध छौं । खेलाडीलाई सरकारदेखि अन्य निकायले पनि सहयोग गर्नुपर्ने अध्यक्ष विष्टको भनाइ छ ।

 

एकीकृत मार्सल आर्टका प्रशिक्षक सिंहले यो युद्धकला मात्र नभई युवाको नेतृत्व विकासमा सहयोग गर्न अभियान पनि भएको बताए । पछिल्ला समय युवा कुलतमा लागेकाले त्यसबाट बचाउन पनि मार्सल आर्टमार्फत अभियान सञ्चालन भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्