निर्माण व्यवसायीकाे एकाधिकार स्वीकार्य हुँदैन : प्रधानमन्त्री



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको अाज उद्घाटन गर्दै उनले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानुनसम्मत काम गर्न आग्रह गरे । 

उनले व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भए सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने  स्पष्ट पारे । 

व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उनले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता व्यक्त गरे ।

 

उनले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरे।

 

उनले कमीकमजोरी रहेका कानुन परिमार्जन गर्न सरकार तयार रहेको बताए । संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने प्रधानन्त्रीको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्