बेपत्ता झा दम्पती प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान



जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट रहस्यमय तरिकाले बेपता भएका झा दम्पतीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थालेको छ । घटना भएको करिब एक महिना बित्न लाग्दा पनि प्रहरीले झा दम्पतीको बारेमा सत्यतथ्य पत्ता लगाउन नसक्दा सीआईबीले अनुसन्धान थालेको हो ।
पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा अवकाशप्राप्त कर्मचारी मुसाफिर झा र उनकी श्रीमती गीता देवी झा ओछ्यानबाटै बेपत्ता भएका थिए । गत फागुन १० गते राति ओछ्यानबाटै झा दम्पतीलाई बेपत्ता पारिए पनि उनीहरुको अवस्था अझै अज्ञात छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले झा दम्पती बेपत्ता प्रकरणमा प्रारम्भिक अनुसन्धन थालिसकेको जानकारी दिइन् । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई पहिलेदेखि नै सघाए पनि अब टोली खटाएरै अनुसन्धान थाल्ने बताइन् ।
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भएपनि ठोस परिणाम आउन नसकेपछि सीआईबीले आफ्नै टोली खटाएर अनुसन्धान गर्न लागेको हो । पन्तले यस घटनामाथि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र स्थानीयको माग अनुसार टोली खटाउन लागेको बताइन् ।
झा दम्पतीको अवस्था विषयमा अविलम्ब जानकारी गराउन माग गर्दै मैथिल ब्राह्मण युवा महासभासहित ४४ वटा संघसंस्थाले घटनाको सिआईबीले अनुसन्धान गर्नुपर्ने माग गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्