एक नर्सद्वारा ओभरडोज दिएर एक सय बिरामीको हत्या



जर्मनी : जर्मनीका पूर्वनर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका एक सय बिरामी मारेको स्वीकार गरेका छन्। 

 

जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमबद्ध रूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाइमा मंगलबार उक्त कुरा स्वीकारेका हुन्। 

 

अन्य बिरामीको हत्या गरेको अभियोगमा यसअघि नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगेलले आफूले जानानान औषधिको अधिक मात्र बिरामीलाई दिएका बताएका छन्। बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफूले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन्। स्वास्थ्य कानुनले उक्त कार्यलाई अवैध मान्छ। 

 

उत्तरी सहर ओल्डेनबर्गमा सुनुवाइको पहिलो दिन न्यायाधीश सेवास्टियन बुहेरम्यानले 'के उनीमाथि लगाइएका आरोप सही हुन्?' भन्ने जिज्ञासामा होएगेलले उक्त दाबी सही भएको बताए। 

 

'मैले जे भनेँ त्यो भएको हो,' उनले मृतकका दर्जनौं शोकमग्न आफन्तहरूले भरिएको अदालतको कोठामा भने। 

 

सुनुवाइ सुरु भएपछि बुहेरम्यानले सुनुवाइको प्रमुख उद्देश्य नै अस्पताललाई हत्याविरोधी स्थान बनाउनु रहेको बताएका थिए। जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापरबाहीका कारण भएका दुःखद घटनामाथि छानबिनरहित अवस्थामा छोड्नुको सट्टा कानुनी फैसला दिने उद्देश्यले सुनुवाइ भएको उनको भनाइ थियो।

 

'सत्य पत्ता लगाउन सम्भव भएसम्म कोसिस गर्नेछौँ,' उनले भने, 'यो प्रकाश नछिर्ने घरको अँध्यारो कोठाजस्तो थियो। अँध्यारोमा उज्यालो भर्न हामीले चाहेका छौँ।' 

 

पीडितहरूको एक मिनेट लामो नि:शब्दतापछि दाह्रीवाल होएगेलले टाउको झुकाएका थिए, जब सरकारी अभियापनकर्ता डानियला स्कीरेक बोहलम्यानले अस्पतालको लापरबाहीका कारण मारिएका सबैको नाम पढेर सुनाए।

 

अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबर्गस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहर्सट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो। 

 

होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका १३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।  हत्या दाबी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमतिबिना नै अस्पतालले मारेको दाबी गरे। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्