सियो भेटिएपछि लाखौंको स्ट्रबेरी फ्याक्दै अष्ट्रेलियाका कृषक



अष्ट्रेलियाका किसानहरु व्यवसायिक रुपमा उत्पादन गरेको हजारौं स्ट्रबेरी नष्ट गर्न बाध्य भएका छन् । यहाँ उत्पादन हुने स्ट्रबेरीमा लुगा सिउने सियो भेटिएपछि पर्याप्त बजार अभावमा किसानहरु आफुले उत्पादन गरेको स्ट्रबेरी नष्ट गर्न बाध्य बनेका हुन् । 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र विपक्षी दलका नेता बिल सर्टन्ले सर्वसाधारणलाई स्ट्रबेरी खरिद गरेर किसानहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।  करिब दुई साताअघि क्युन्सल्याण्डबाट देखिएको यो समस्या अहिलेसम्म अष्ट्रेलियाका ६ राज्यमा देखा परेको छ । 

खरिद गरेको स्ट्रबेरीमा लुगा सिउने सियो स्थानीयले भेटेपछि अहिले प्रहरी अनुसन्धानमा लागिपरेको छ । किसानहरु अत्यन्तै पीडित भएको र उत्पादन गरिएको स्ट्रबेरीले बजार नपाएपछि क्युन्सल्याण्ड सरकारले १ मिलियन डलर र केन्द्रीय सरकारले १ मिलियन डलर सहयोगको घोषणा गरिसकेका छन् ।

 यसैगरि स्ट्रबेरीमा सियो राख्ने दोषीको बारेमा जानकारी दिने जोकोहीलाई १ लाख डलर पुरस्कारको घोषणा समेत गरिएको छ । अष्ट्रेलियामा पहिलोपटक देखिएको यो समस्यालाई यहाँका किसानहरुले ‘व्यवसायिक आतंकवाद’ को संज्ञा दिएका छन् ।

 क्युन्सल्याण्ड राज्यको स्ट्रबेरी उत्पादन गर्ने किसानहरुको संस्थाका उपादक्ष्य एड्रियन स्क्ल्जले यस कार्यलाई व्यवसायिक आतंकवादको संज्ञा दिदै आफुहरुलाई घुँडा टेकाउने प्रयास भएको बताएका छन् । अर्काेतिर प्रधानमन्त्री मरिसनले समस्या चकिैन्दै गएपछि खानेकुराहरुमा हेलचेक्रयाईं गर्नेलाई १५ बर्षसम्मको जेल सजाय हुने कानुन बनाउने घोषणा गरेका छन् । उनले यही आउने साता संसदबाट पास गरेर कानुनलाई ब्यवहारमा लागु गर्ने बताएका छन् ।

 स्ट्रबेरीभित्र सियोको समस्या देखिएपछि यहाँका मुख्य वितरकहरुले बजार पठाउनुअघि मेटल डिकेक्टरले स्क्यान गर्न शुरु गरेका छन् । उनीहरुले ग्राहकहरुको सुरक्षा प्राथमिकता रहेको भन्दै स्ट्रबेरीलाई स्क्यान गर्न शुरु गरेका भएपनि अहिलेसम्म पहिलेको तुलनामा ग्राहक पाउन भने सकेका छैनन् । 

अर्काेतिर ‘कपीक्याट’ (अरुले गरेको कार्यलाई दोहऱ्याउने) प्रवृत्तिका कारण समस्या थप चर्किएको बताइएको छ । बजार नपाएपछि अहिले अष्ट्रेलियाको स्ट्रबेरी खेतीको ब्यवसायमा नै समस्या परेको छ । दर्जनौ कृषकहरुले आफुले लगाएको बाली नष्ट समेत गर्नुपरेको छ भने कामदारहरुलाई बिदा दिन थालेका छन् । समस्या देखिएका सबै राज्यहरुमा रहेका प्रहरीहरुले अनुसन्धान शुरु गरिसकेको छ ।   

प्रतिक्रिया दिनुहोस्