कुकुरबाट मलेरिया पत्ता लगाउने विधि सार्वजनिक



काठमाडौं : बेलायत र गाम्बियाका वैज्ञानिकले पहिलो पटक मलेरिया पत्ता लगाउने नयाँ अनुसन्धान विधि पत्ता लगाएका छन्। उनीहरुले कुकुरको प्रयोग गरी मलेरिया पत्ता लगाएको तथ्य सार्वजनिक गरे। वैज्ञानिकका अनुसार कुकुरलाई संक्रमित व्यक्तिको कपडा सुँघाएर मलेरिया पत्ता लगाउन सकिन्छ। त्यसका लागि ब्रिटेनको डरहम विश्वविद्यालयले कुकुरलाई तालिम दिँदै आएको छ।

समाचारमा बताइए अनुसार कुकुरको सहयोगबाट मलेरिया पत्ता लगाउन र रोग निवारण गर्न ठूलो सहयोग पुग्नेछ। अहिले सुरुवाती चरणमा रहेको उक्त प्रयोगबाट मलेरियाका बिरामी पत्ता लगाउन सजिलो हुने विशेषज्ञहरुले दाबी गरेका छन्।

 

अध्ययनका अनुसार मलेरियाबाट ग्रसित बिरामीको शरीरमा एक प्रकारको गन्ध आउँछ।यस्तो अवस्थामा कुकुरको सहयोगबाट मलेरिया पत्ता लगाउन सजिलो हुन्छ। कुकुरमा गन्ध पत्ता लगाउने बलियो क्षमता हुने भएकाले मलेरिया पत्ता लगाउन प्रयोग गरिएको हो।

 

अमेरिकन सोसाइटी अफ ट्रोपिकल मेडिसिन एन्ड हाइजीनको वार्षिक सम्मेलनमा कुकुरले मलेरिया पत्ता लगाएको बारे जानकारी गराइएको छ। उक्त सम्मेलनमा १० बिरामीमध्ये सात व्यक्तिमा मलेरियाको संक्रमण भएको कुकुरले पत्ता लगाएको जानकारी गराएको हो।

 

लन्डन स्कुल अफ हाइजीन र ट्रोपिकल मेडिसिनका चिकित्सक सेल्सी स्कायर्सले कुकुरमा सुँघ्ने क्षमता प्राकृतिकबाटै हुने जनाएका छन्। उनका अनुसार कुकुरमा 'डायगोनोस्टिक टेस्ट' को क्षमता बढी मात्रामा हुन्छ।

प्रतिक्रिया दिनुहोस्