काठमाडौं तराई द्रुतमार्गको टेण्डर रद्द गर्न सेनालाई निर्देशन



काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं तराई द्रुतमार्गको सुरुङखण्ड निर्माणको दोस्रो प्याकेजको टेन्डरसम्बन्धी काम खारेज गर्न निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले आर्थिक प्रतिस्पर्धा नहुने भन्दै नेपाली सेनालाई दोस्रो प्याकेजको टेन्डर प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो। पूर्वयोग्यता छनोट गर्दा चीनको पोली चांग्दा इन्जिनियरिङ कम्पनी लिमिटेड मात्रै टेन्डर हाल्न योग्य देखिएपछि आर्थिक प्रतिस्पर्धा नहुने समितिले ठहर गरेको हो।

नेपाली सेनाले सुरुङमार्ग निर्माणलाई दुई प्याकेजमा बाँडेको थियो। जसअन्तर्गत कम्पनीहरुको पूर्वयोग्यता पास हुने कम्पनीलाई मात्रै बोलपत्रमा सहभागी गराउने निर्णय गरेको थियो। जसका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजको पूर्वयोग्यता परीक्षणमा २२ कम्पनी सहभागी भए पनि सेनाले पूर्वयोग्यता नपुगेकोले २१ कम्पनी फेल भएको बताएको थियो।

त्यसमा चीनको चांग्दा एउटामात्रैको पूर्वयोग्यता पुगेको सेनाले जनाएको थियो। पहिलो प्याकेजमा भने दुईवटा कम्पनी छनोट भएकाले त्यसलाई यथावत् राखेर काम अघि बढाउनसक्ने समितिले भनेको छ। यसरी बोलपत्र आह्वान हुँदा एउटा मात्रै कम्पनी सहभागी हुने अवस्था आएपछि आर्थिक प्रतिस्पर्धा नै नहुने भन्दै समितिले यस्तो निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्