पर्वतमा अत्याधुनिक अस्पताल भवन बन्दै



पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ ।

 

हालसम्म १५ शैयाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको हो । लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो । 

 

भवन, जनशक्ति र प्रविधिको अभावमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकिरहेका बेला चालु आर्थिक वर्षको बजेटबाट भवन निर्माण गर्न रकम निकासा भएको थियो ।

 

अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले भने, “अब छिट्टै नयाँ संरचनासहितको व्यवस्थित अस्पताल बनाउँछौँ ।”नयाँ भवनमा अपाङ्गमैत्री, बालबालिका, साधारण तथा मूख्य शल्यक्रिया, एक्सरे कक्षसहितको एकीकृत भवन हुनेछ ।

 

पाँच वटा ब्लकमा निर्माण हुने अस्पतालमा डाक्टर तथा नर्सको आवास, ५० वटा शैया, प्रसूतिगृह, शल्यक्रिया भवन, एक्सरे, ईसीजी, प्रयोगशालालगायत छुट्टाछुट्टै कोठा रहने अध्यक्ष पहाडीले जानकारी दिए । 

 

हालको साना टहरा हटाई भवन निर्माण भएपछि विशेषज्ञ डाक्टरसहितको सेवा सञ्चालनमा आउने र १६ जना डाक्टरको दरबन्दी हुनेछ । त्यहीअनुसार अन्य कर्मचारीको व्यवस्थापन हुनेछ । 

 

भवन निर्माणका लागि गोरखा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको छ । आगामी ३० महिनाभित्र सम्पन्न हुने भवनको यसै महिना शिलान्यास गरेर काम अघि बढाउने तयारी भइरहेको अध्यक्ष पहाडीले बताए ।

 

गएको असारदेखि मेडिकल सुपरिटेण्डेन्टसमेत रिक्त रहेको अस्पताल पछिल्लो समय रिफरल सेन्टरका रुपमा विकास हुँदै गएको छ । अहिले अस्पतालमा करारका तीन डाक्टर छन् । एक वर्षदेखि एम्बुलेन्स बिग्रिएर थन्किएकोमा हालै मात्रै नेपाल सरकारबाट नयाँ एम्बुलेन्स प्राप्त भएको हो । 

 

अस्पतालमा स्वास्थ्य सेवा लिन कुस्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी र जलजला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्रका बासिन्दा आउने गरेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्