कोभिड–१९खोप किन्न विश्व बैंकसँग ८ अर्ब ७० करोड बराबरको सम्झौता



काठमाडौं । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समुहमा कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकार बिच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको सहुलीयतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । ‘कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय–सान्दर्भिक सहयोग पु¥याउनेछ’ अर्थसचिव शिशिरकुमार ढुंगानाले भने। ‘कोभिड–१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्धको खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुनेछ ।’
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रुपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनाका अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।
यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड–१९ संक्रमणको परीक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ । कोभिड–१९ विरुद्धका खोपहरूको माग र स्वीकार्यता सुधार गर्न सामुदायिक संलग्नता र जोखिम सञ्चारलाई प्रवर्द्धन गर्नेछ, र आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाइलाई पनि बढावा दिनेछ ।
‘कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।
विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशील देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ ।
यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९का खोपहरूको खरिद, वितरण, परीक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्ब डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो । यस वित्तिय सहयोग विश्व बैंक समूह स्तरीय बृहत कोभिड–१९ प्रतिकार्य अन्तर्गत पर्दछ, जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीलाई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्