केही मधेशी नेतामा मन्त्री बन्न लोभ पसेको छ : प्रचण्ड



कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनमा माओवादी केन्द्रले निर्णायक भूमिका निर्वाह गर्ने बताएका छन् ।
कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवा सम्बोधन गर्दै उनले भने, ‘हामी नयाँ सरकार गठन प्रक्रियामा निर्णयका भूमिका खेल्छौँ । प्रधानमन्त्री हुनु नै महत्वपूर्ण होइन । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि राख्छौँ । आफू प्रधानमन्त्री नभएपछि त्यसभन्दा माथि रहन्छौं ।’
कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने उनले बताए । ‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ’, प्रचण्डले भने, ‘म तपाईं सबैलाई बधाई भन्न चाहन्छु । अब छिट्टै नयाँ सरकार बन्छ । नयाँ परिस्थिति बन्नेछ ।’
नेपाली जनताको अधिकार र पहिचान ध्वस्त पार्ने विरुद्ध लाग्ने दाबी गरे । ओली संविधान र मधेशविरोधी भएको आरोप लगाए । ‘संविधान र मधेशको सबैभन्दा विरोधी ओली नै हुन् । ओलीले मधेशीको नाम सुन्न चाहँदैनन’ उनले भने, ‘केही मधेशी नेताहरु मन्त्री पदको लागि ओलीसँग जान खोजिरहेका छन् । मैले महन्थ ठाकुरलाई गठबन्धनको सरकार बनाएर मधेशी जनताको अधिकारको लागि लड्ने सरकार निर्माण गरौँ भनेको छु । ओलीसँग नजानुहोस् मैले भनिरहेको छु ।’
कार्यक्रममा प्रचण्डले मधेशविरोधी शक्तिसँग मिलेर जान नदिनको लागि दबाब दिनसमेत जनतालाई आग्रह गरे । भारतसँगको सीमानाको समस्या समाधानमा समेत पहल गर्ने बताए । नयाँ सरकार बन्नुअघि र बनेपछि पनि पहिचानको अधिकारको लडाइँमा लाग्ने दाबी गरे ।
‘आफैँले पार्टी एकता र केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थिएँ । नेपालमा ओली राष्ट्रवादी भनेर दाबी गर्दै संविधान र जनविरोधी अधिकारमा लागिरहे’ उनले भने, ‘ओलीले संसद् विघटन गरेपछि नेपाली जनताको जनताको अधिकारको रक्षाका लागि दुई महिना नयाँ खालको जनयुद्ध गरियो । त्यसमा हामीले एउटा व्याटल जित्यौँ । तर, वार जित्न बाँकी छ ।’ अब प्रतिगामी षड्यन्त्र परास्त गर्नका लागि जनताको बीचमा जाने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्