बाँकेको नरैनापुरमा भीषण आगलागी, १०० भन्दा बढी घर जले



नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा फेरि आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा १०० वटा भन्दा बढी घर जलेका छन् ।
शनिबार दिउँसो बस्तीमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको छ ।
नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाहीका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ । ‘कति घर जलेका छन् कसरी आगलागी भयो भन्ने बुझ्ने कोसिस गर्दैछौं,’ उनले भने,‘आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन’


आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।
अहिले पीडितहरुलाई राहत र पुनःस्थापनाका लागि घटनास्थलमा स्थानीय प्रशासन लागेको छ । नरैनापुर ६, दोन्द्रागाउँमा गत मंगलबार पनि आगलागी भएको थियो । त्यसअघि फागुन २४ गते पनि नरैनापुर–१ को सुइया गाउँमा आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए । बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्