नयाँ सरकार बन्ने सम्भावना तत्काल छैनः काँग्रेस उपसभापति निधि



झापा । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय तत्काल नयाँ सरकार बन्ने संभावना नरहेको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन् ।
उनले जनता समाजवादी पार्टीले नयाँ सरकारमा आउनका लागि स्पष्ट कुरा नराखेकाले नयाँ सरकार निर्माण अन्यौलमा परेको बताए ।
नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै कांग्रेसका उपसभापति निधिले कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गरे पनि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्ने संभावना नदेखिएको बताए ।
निधिले भने, ‘कांग्रेसले त निर्णय गरिसकेको छ । तर माओवादीले समर्थन फिर्ता लिएको छैन । त्यसैले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’ तर प्रधानमन्त्री ओलीले राजीनामा नगरि वर्तमान राजनीतिक संकट किनारा नलाग्ने उनले बताए । उनले भने, ‘उहाँकै जिल्लामा आएर उहाँको राजीनामा माग गर्दछु ।’
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नु पर्ने तर आजसम्म राजीनामा नदिइएकाले अचम्म लागेको उनले बताए । ‘अब त उहाँलाई कुनै पनि हालतमा प्रधानमन्त्री पदमा बस्न नैतिकताले दिँदैन,’ निधिले भने । जटिलता कायम रहे चुनाव नै अन्तिम विकल्प भएको उनले बताए ।
उनले भने, ‘यस्तै अवस्था रह्यो भने चुनावमै जानु पर्ने हुन्छ । त्यस्का लागि पार्टीका सबै पंक्तिलाई तयार रहन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्