२४ घण्टाभित्र एमालेका मन्त्रीले राजीनामा दिने



काठमाडौं ः। कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन् । आइतबारको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन् ।
कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको बताएका थिए । आइतबार बसेको संसदीय दलको बैठकमा सहभागी मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएको एमाले एमाले प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्नेछ ।
कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन् ।
बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदलसमेत बनाएको छ । कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन् ।
शाहीका अनुसार बैठकले चैत ४ गतेको संसदीय दलको बैठकको निर्णय अनुसार मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको जानकारी दिए । पार्टी केन्द्रमा असहज स्थिति देखिएको भन्दै बैठकले एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
शाहका अनुसार एमाले संसदीय दलको अर्को बैठक चैत २४ गतेका लागि बोलाइएको छ । सर्वोच्च अदालतले नेकपा विवादको फैसला गर्दै माओवादी केन्द्र र एमालेलाई अलगअलग दल बनाएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्