प्रदेश १ का सांसद आङ्बुहाङ पदमुक्त



विराटनगर । पार्टी परित्याग गर्दै प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई माओवादी केन्द्रले पदमुक्त गरेको छ । पार्टी परित्याग गर्दै मन्त्री बनेको आङ्बुहाङलाई माओवादी केन्द्रले १० दिनपछि सांसदबाट पदमुक्त गरेको हो ।
सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारबाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
पार्टीको निर्देशनविपरीत मन्त्री बनेपछि पार्टीले पदमुक्त गरिसकेको जानकारी गराउदै आङ्बोले भने,‘ प्रदेशसभा बैठकमा पदमुक्त गरेको जानकारी गराउछौं ।’ गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्