फेरि बन्यो विश्वकै नम्बर एक प्रदूषित शहर



काठमाडौं । पानी नपरेका कारण काठमाडौंको वायु प्रदूषण अझै हट्न सकेको छैन । सोमबार पनि काठमाडौं उपत्यकामा विहानैबाट वायु प्रदूषण रहेको छ । दिउँसो पनि प्रदूषण रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
‘वायू प्रदूषणका कारण आज पनि काठमाडौंमा विहानैबाट भिजिविलिटी निकै कम छ । विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ,’ मौसमविद् समीर श्रेष्ठले भने, ‘वायु मण्डलको माथिल्लो भाग स्थिर रहेकाले अझै केही दिन यही अवस्था रहन सक्छ ।’
पश्चिमी मौसमी प्रणाली सक्रिय नहुँदासम्म प्रदूषण नहट्ने उनको भनाइ छ । बुधबारबाट पश्चिमी मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठ बताउँछन् ।
केहीसमय यता काठमाडौं उपत्यकासहित मुख्य सहरहरुमा वायुमा प्रदूषणको मात्र बढेको छ । वायु प्रदूषण बढ्दा आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशका धेरै ठाउँमा डढेलो लाग्दा वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । हाल वायुमा धुलोभन्दा पनि धुँवाको मात्रा धेरै रहेको वातावरण विभागले बताएको छ । डडेलो कम भएपछि वायु प्रदूषण पनि कम हुने विभागको भनाइ छ ।
नम्बर एक प्रदूषित शहर
प्रदुषणका कारण काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा छ।
आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (एअर क्वालिटी इन्डेस्क) ३०७ रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।
५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ ।
गएको बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो । तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो ।
हिउँदमा निकै कम वर्षा हुँदा धुलोका कण जम्मा भएर प्रदूषित काठमाडौँसहितका विभिन्न क्षेत्रको वायुमा डढेलोको धुवाँ मिसिँदा गएको हप्ता अवस्था अति नाजुक भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

घरमै बस्न विज्ञको सुझाव
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।्
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनुपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे ।
उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्काघात, हृदयाघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे । वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घर बाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारीसाधन नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।
बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषणका कारण कारणले घर बाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङ वाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्