आहा रारा गोल्डकपः संकटा सेमिफाइनलमा, मनाङ मस्र्याङ्दी बाहिरियो



पोखरा । अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।
पहिलो हाफ हुनुभन्दा एक मिनेटअघि ४४ औं मिनेटमा फोफोनाले सिधै भली हिर्काउँदै गोल गरेपछि संकटाले मनाङ मर्स्याङ्दीको चुनौतिलाई १–० गोलले पन्छायो । अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सुबासले गरेको क्रस बललाई मनाङ मर्स्याङ्दीका खेलाडीबाट रिफ्लेक्ट बललाई फोफोनाले सिधै पोष्टको दिशा दिदैं १९ औं सस्करणको आहा रारा गोल्डकपमा संकटाले सेमिफाईनल सुरक्षित बनायो । मनाङ मस्र्याङ्दी सम्भवतः पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।
पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ । डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ मस्र्याङ्दीले सोमबार संकटाविरुद्धको खेलमा भने गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै गोल्डकपबाट बाहिरियो । रन्जन विष्टले अतिरिक्त समयमा हानेको बल सिधै संकटाको हातमा परेको थियो ।
डिबक्सबाट सिधै प्रहार गरेपछि गोलकिपरकै हातबाट रिफ्लेक्ट भएको बललाई डिफेन्सले क्लियर गरे । खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा म्यान अफ दि म्याच फोफोना घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लब बीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्