बिस्का जात्रा नहुने भएपछि भक्तपुरमा प्रदर्शन



भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा सोमबार भक्तपुरको टौमढी क्षेत्रमा स्वस्फूर्त सयौंले प्रदर्शन गरेका छन् । उनीहरुले कोभिड–१९ को बहानामा नेपालभाषी समुदायको जात्रा, पर्वमात्रै रोक्न नपाइने भन्दै आक्रोश पोखेका छन् ।
बिस्का जात्राको लागि तयार गरिएको भैरवनाथ तथा भद्रकालीको रथलाई साक्षी राखेर उनीहरुले प्रहरी प्रशासनले जात्रा गर्न नदिए राम्रो नहुने चेतावनीसमेत दिएका छन् । प्रदर्शनका सहभागीहरुले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र जिब्रो छेड्ने जात्रा हुनैपर्ने माग गरेका छन् । उनीहरुले बिस्का जात्रा गर्नैपर्ने मागलगायतका प्लेकार्ड बोकेका छन् ।
त्यस्तै सभा, जुलुस र रंगशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने भन्ने प्रश्न उठाएका छन् । कोरोनाको नाउँमा जात्रा पर्व रोक्नेहरुलाई खबरदारी गर्दै उनीहरुले जात्रा गर्ने निर्णय नगरिएसम्म शान्तिपूर्ण प्रदर्शनलाई जारी राख्ने बताएका छन् ।
यता गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले निर्माण पूरा भइसकेको भैरवनाथ र भद्रकालीको रथ पुनः बिगार्न अब सम्भव नभएको बताए । उनले बिस्का जात्रामा रथ तान्ने वा नतान्ने तथा लिंगो ठड्याउने वा नठड्याउने भन्नेबारे गुठी संस्थानले निर्णय नगर्ने स्पष्ट पारे ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) ले बिस्का जात्रा रोक्ने निर्णय गरे पनि भक्तपुर नपाको नगरस्तरीय संकट व्यवस्थापन समितिले बिस्का जात्रालाई निरन्तरता दिने धेरैको अपेक्षा थियो । तर भक्तपुर नपाले पनि डीसीसीएमसीकै निर्णयलाई सदर गर्दै बिस्का जात्रालाई औपचारिकतामै सीमित गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले बिस्का जात्राअन्तर्गत भक्तपुरका टोलटोलमा हुने सहायक जात्रा भने सञ्चालन गर्ने निर्णय गरेको छ ।
आठ दिन नौरातसम्म चल्ने भक्तपुरको बिस्का जात्रा यस वर्ष यही चैत २८ गतेदेखि सुरु हुँदैछ । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण पूरा गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्