म्याद नाघेको ७२ हजार केजी चिनी खाडलमा



काठमान्डौं । खाद्य क्वारेन्टाइन जलेश्वरले सेवन गर्न अयोग्य भनेको ७२ हजार केजी अखाद्य चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले वर्ष दिनपछि नष्ट गरेको छ ।

राजस्व अनुसन्धानले जनप्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च सहित सरोकारवाला निकायहरूको रोहबरमा सोमबार चिनी नष्ट गरेको हो । गत वर्ष नै खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले सेवन गर्न अयोग्य भनेको चिनीलाई पटक–पटक सेवनयोग्य बनाउन चलखेल भएपनि त्यो सम्भव नभएपछि अन्ततः सोमबार अपराह्न नष्ट गरिएको हो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेले राजस्व चुहावट भएको सम्वन्धमा उच्च अदालत वीरगञ्जमा मुद्दा दायर भइसकेको र अदालतले पनि चिनी व्यवस्थापन गर्नु भन्ने अनुमति दिइसकेकोले नमूना परीक्षण प्रतिवेदनका आधारमा चिनी नष्ट गरिएको बताए ।

राजस्व अनुसन्धानले सो चिनीलाई आफ्नै क्षेत्रभित्र २ वटा ठुला ठुला खाल्टा बनाएर माटोले पुरेर नष्ट गरेको छ ।

भारतको उत्तर प्रदेशबाट गतवर्ष जलेश्वर भन्सारको कार्यालय हुँदै नेपाल भित्रिएको सो चिनी वर्ष दिनदेखि राजस्वको गोदाममा थन्किएको थियो । चिनी लिलाम बिक्री प्रकृया अन्तर्गत राजस्वले फागुन १३ गते नमूना परीक्षणका लागि जनकपुर पठाएको हो । चौथो पटक गरिएको नमूना परीक्षणमा पनि सेवन गर्न अयोग्य प्रमाणित भएपछि सो चिनी राजस्वले सोमवार नष्ट गरेको हो ।

अनुष्का मल्टिपर्पोजले कम्पनिले छोटो दूरीको वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार हुँदै काठमाडौ लैजाने क्रममा पथलैयास्थित राजस्वले चिनी नियन्त्रणमा लिएको थियो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले व्यापारीहरूको ठूलो चलखेल भएपनि निरन्तरको खबरदारी पछि उपभोक्ताको हितमा निर्णय भएको बताए ।

अखाद्य चिनीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्षदेखि अनुसन्धान गरिरहे पनि हालसम्म कसैलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्