बर्खास्तीको तयारीपछि कर्णालीका तीन मन्त्रीले राजीनामा दिदै



सुर्खेत : कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन मन्त्रीले मंगलबार पदबाट राजीनामा दिदैछन्  । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लागेका हुन् ।
एमालेको एकल सरकार बनाउन तीन मन्त्रीले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेको आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको सरकारमा सामेल भएका तीनजना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

मंगलबार एमाले संसदीय दलको बैठक बस्दैछ । त्यसअघि सामूहिक राजीनामा दिने सामाजिक विकासमन्त्री रावलले बताए । ‘पत्रकार सम्मेलन नै गरेर राजीनामा दिएर संसदीय दलको बैठकमा उपस्थित हुन्छौँ,’ उनले भने, ‘पार्टीको निर्णयअनुसार नै हामीले राजीनामा दिन लागेका हौँ ।’
कर्णाली प्रदेश सभामा ४० सांसदमध्ये एमालेका २० जना छन् । माओवादी केन्द्रले १३ सांसदमध्ये एमाले प्रवेश गरेको भन्दै धर्मराज रेग्मीलाई सांसद पदबाट मुक्त गरेको छ । हाल कर्णाली प्रदेशमा ३९ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् । पार्टीको एकल बहुमत पुग्ने भएकाले एमालेले आफ्नो नेतृत्वमा एकल सरकार बनाउने तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्