कर्णाली प्रदेश सरकार अलपमतमा, एमालेका तीन मन्त्रीले छोडे सरकार



काठमाडौँ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै मन्त्रीहरुले राजीनामा दिएका छन् ।
राजीनामा दिने मन्त्रीहरुमा दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढा रहेका छन् । सामाजिक विकास मन्त्री रावलले पार्टी एकताका लागि राजीनामा दिएको दाबी गरेका छन् । राजीनामा दिने तीनै मन्त्री एमालेको नेपाल–खनाल पक्षका हुन् ।
यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर यी तीन मन्त्रीहरु सरकारबाट बाहिरिएका थिएनन् । त्यसपछि एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले तीन दिनभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।
कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ । कर्णाली प्रदेशको सरकार गठनमा माओवादीलाई एमालेले साथ दिएको थियो ।
यी दुईवटा पार्टी पछि एकीकरण भएपनि सर्वोच्च अदालतको फैसलापछि पुरानै अवस्थामा फर्किएका छन् । एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।
केन्द्रीय सरकारमा माओवादीले समर्थन फिर्ता लिन सक्ने चर्चा चलिरहेका बेला माओवादी नेतृत्व रहेको प्रदेश सरकारमा एमालेबाट मन्त्री भएकाले राजीनामा दिने क्रम सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्