एनभीए भलिबल कप : न्यू डायमन्ड शीर्ष स्थानमा उक्लियो



काठमाडौं । काठमाडौंमा जारी पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भएको खेलमा डायमन्डले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकालेको हो ।
मंगलबार सम्पन्न खेलमा जित निकालेर शीर्षस्थानमा पुगेको न्यू डायमन्डले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एकपक्षीय खेलमा डायमन्डले पहिलो सेटमा २५–२२, दोस्रो सेटमा पनि २५–२२ र अन्तिम सेटमा २५–१६ को आकर्षक जित निकालेको हो ।
जितपछि डायमन्डको ५ खेलबाट ११ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको एपीएफको पनि ११ अंक नै छ । आर्मी र पुलिसको समान ८–८ अंक छ । भरतपुर महानगर खेलकुद परिषद र ढोरपाटन स्पोर्ट्स क्लब भने लिग चरणबाट बाहिरिसकेको छ ।
यस्तै मंगलबारै भएको अर्को खेलमा नेपाल एपीएफ क्लबले भरतपुर महानगर खेलकुद परिषदलाई २५–१३, २५–७ र २५–९ को सोझो सेटमा जित निकालेको छ । एपीएफले पनि फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
अब बुधबार हुने लिग चरणको अन्तिम खेलमा आर्मी र पुलिस तथा डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्