सरकार असफल हुँदा बाह्य शक्ति सक्रिय : चित्रबहादुर केसी



बुटबल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले नेपालको सार्वभौमिकता र अखण्डताविरुद्ध पहिल्यैदेखि नै विभिन्न शक्ति राष्ट्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै पछिल्लो समय उनीहरुले सक्रियता बढाएको जिकीर गरे ।
केसीले भारतले नेपालमा अस्थिरता चाहेको र नेपालको अखण्डता र सार्वभौकितामाथि नै कब्जा जमाउन गतिविधि सञ्चालन गरिरहेको दावी पनि गरे ।
उनले नेपालमा जवर्जस्ती एमसीसी ल्याएर अमेरिकाले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको बताए । नेपालमा हिन्दु राष्ट्र कायम गर्न खोज्ने भारत र एमसीसी ल्याएर अमेरिकी सेना भित्राउन खोज्ने अमेरिका दुवै राष्ट्रले नेपालको सार्वभौमिकतालाई कमजोर पार्न खोजेको बताए ।
उनले संघीयताको बिरोध गर्दा नेपालमा राष्ट्रिय जनमोर्चालाई राजनीतिक रुपमा एक्ल्याइएको स्मरण गर्दै अहिले संघीयताको बिरोध गर्नेको संख्या बहुसंख्यक भइसकेको दाबी पनि गरे । नेपालमा संघीयता असफल भइसकेको उनको भनाई थियो ।
एउटा सरकार चलाउन नसकेको देशले आठवटा सरकार चलाउन सम्भव नभएको पुष्टि भएसँगै संघीयता असफल भइसकेको र संघीयतावादीलाई संघीयता घाँडो भएको उनले बताए ।
अध्यक्ष केसीले पुनःस्थापित संसद फेरि विघटनको खेल शुरु भएको जिकीर गरे । सरकारले संसदलाई विजनेश दिन नचाहेको उल्लेख गर्दै देशलाई निकास दिन प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको तर्क गरे । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर बामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताए । तीन दिनसम्म चल्ने सम्मेलनले राष्ट्रिय जनमोर्चाको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्