प्रजातन्त्रको खिलाफमा माओवादी वा एमालेसँग काँग्रेसले सम्झौता गर्दैनः देउवा



झापा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताएका छन् । तर, काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमाले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।
पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार झापा आइपुगेका काँग्रेस सभापति देउवाले मंगलबारको कार्यक्रममा सरकारका विषयमा भन्दा पनि आफ्नो पार्टीको एकतामा बढी जोड दिए ।
शहीद यामबहादुर आचार्य प्रतिष्ठानले झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने बताए ।
पार्टी एक भए फेरि पनि चुनाव जित्न सकिने र राजनीतिक दलहरूलाई जवाफ दिन सकिने बताउँदै देउवाले भने, ‘एकता नै पार्टीको जग हो । हामी एक भयौँ भने संसारको कुनै तागतले हराउन सक्दैन ।’
प्रजातन्त्र रक्षाका लागि हिजो राजतन्त्र हटाउनु परेको बताउँदै देउवाले भने, ‘नेपाली काँग्रेस एकमात्र प्रजातन्त्रवादी पार्टी हो, नेपाली काँग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता गर्न सक्दैन, चाहे माओवादी होस् चाहे एमाले ।’
सरकार निर्माणका लागि संख्या आवश्यक पर्ने भन्दै त्यो संख्या निश्चित भए नेपाली काँग्रेसले सरकारको अगुवाइ गर्ने सभापति देउवाले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसले मुलुकलाई वैचारिक र साङ्गठानिक अगुवाइ गर्नुपर्ने बताए । सिटौलाले भने, ‘अहिले नेपालको राजनीति सङ्कटोन्मुख छ, संकटग्रस्त भइसकेको छैन । त्यसलाई बचाउने र जनताको अधिकारलाई बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’

प्रतिक्रिया दिनुहोस्