प्रचण्डको कदम प्रतिगामी र अलोकतान्त्रिक : मन्त्री साह



काठमाडौं : सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् । साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो । साहले बुधबार फेसबुकमा लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साहसहित लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्यागेकाले उनीहरुलाई सांसद पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेका थिए । उनले लेखेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता र सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’

साहले थप लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।’ सांसदहरुमाथि हमलाको दुष्प्रयास गरिएको भन्दै उनले त्यसलाई प्रतिगामी कार्यको संज्ञासमेत दिएका छन् । ‘अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक र कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ मन्त्री साहले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्