एएफसी कप–२०२१ प्ले अफ : श्रीलंकन पुलिस र आर्मी भिड्दै



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा आज श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल साँझ साढे ५ः३० बजे सुरु हुनेछ । प्ले अफअन्तर्गत पहिलो खेलमा आर्मीलाई घरेलु मैदानमा आफूलाई प्रमाणित गर्ने अवसर छ ।
अर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले खेलाडीहरू पूर्ण रूपमा फिट भएकाले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए । एएफसीको लाइसेन्स प्राप्त गरिसकेपछि नै आफूहरूले तयारी गरिरहेको बताउँदै उनले टिमको प्रदर्शन सम्झनलायक हुने दाबी गरे ।
पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।
आर्मीका कप्तान भरत खवास पनि अन्तर्राष्ट्रिय फुटबलमा आफूहरूको पहिचान बनाउन यो प्रतियोगिता महत्वपूर्ण भएको बताउँछन् । प्रतियोगिताका लागि खेलाडीले राम्रो तयारी गरेकाले जित निकाल्ने कुरामा आफू विश्वस्त रहको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्