कम्युनिष्ट पार्टीबीच फेरि एकता गर्छौं : प्रचण्ड



सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् ।
बुधबार सल्यानको सल्लीबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि पनि एकताको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गरेर सफल हुने प्रतिवद्धता जनाए ।
‘कम्युनिस्ट आन्दोलनको एकता अहिले पनि जरुरी छ, हामीले एकता गरेर गल्ती गरेको होइन, सही नै गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नै पर्छ । फेरि पनि राष्ट्रय दलहरुबीच सहमति गर्नै पर्छ ।’
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाए । उनले ओलीमाथि प्रतिगमनको आरोप लगाउँदै जनता उठ्ने बेला आएको बताए ।
प्रधानमन्त्री ओलीलाई प्रचण्डले रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखायल गोर्वाचोभसँग तुलना गरे । उनले गोर्वाचोभपथमा ओली चलिरहेको टिप्पणी समेत गरे ।
‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरु पनि देखिएका छन्,’ प्रचण्डले ओलीप्रति संकेत गर्दै भने, ‘गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सक्याइदिए, ओली पनि त्यहि बाटोमा छन् ।’
देशलाई नै संकटमा पार्ने षड्यन्त्रहरु भइरहेको प्रचण्डको भनाई थियो । देशमा प्राप्त उपलब्धिलाई सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्